काठमाण्डौ । नेपाली बजारमा नगदको परिचालन झन् बढ्दै गएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को अन्तिम (असार मसान्त) तथ्यांक अनुसार बजारमा ७ खर्ब ५० अर्ब ११ करोड रुपैयाँ नगद परिचालनमा रहेको छ।
यो अघिल्लो वर्षको तुलनामा १०.३० प्रतिशत बढी हो। आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्म बजारमा ६ खर्ब ८० अर्ब ४ करोड रुपैयाँ नगद परिचालित थियो।
यसैगरी, सरकारी कोषको आकार पनि उल्लेखनीय रूपमा बढेको छ। अघिल्लो वर्ष ६३ अर्ब ९५ करोड रुपैयाँ रहेको सरकारी ढुकुटीमा चालु आर्थिक वर्षको अन्त्यसम्म आइपुग्दा ७० अर्ब ८३ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ। यो १०.७६ प्रतिशत वृद्धि हो।
त्यस्तै, राष्ट्र बैंकको कुल रिजर्भ कोष २२.८० प्रतिशतले वृद्धि भई ७ खर्ब ८ अर्ब १ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सो कोष ५ खर्ब ४३ अर्ब ८१ करोड रुपैयाँ मात्र थियो।
यस अवधिमा नेपालले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँगको दायित्व पनि बढेको छ। अघिल्लो वर्ष ३८ अर्ब ९५ करोड ३३ लाख रुपैयाँ रहेको दायित्व हाल ४० अर्ब ९८ करोड रुपैयाँ पुगेको छ।

