सिवाईसी नेपाल लघुवित्तको प्रभावशाली प्रगति, नाफा तीन गुणा, ईपीएस ४४ रुपैयाँ नाघ्यो

काठमाण्डौ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा उल्लेखनीय वित्तीय प्रगति हासिल गरेको छ। कम्पनीको नाफा, आम्दानी, सञ्चालन मुनाफा र प्रतिशेयर आम्दानी (ईपीएस) सबै क्षेत्रमा उल्लेख्य वृद्धि देखिएको छ।

कम्पनीले अघिल्लो वर्ष ३ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको थियो भने यो वर्ष नाफा २०८.४४ प्रतिशतले बढेर ११ करोड ७४ लाख रुपैयाँ पुगेको छ। यो वृद्धिको मुख्य कारण आम्दानीमा भएको उल्लेख्य वृद्धि हो।

खुद ब्याज आम्दानी अघिल्लो वर्षको ३१ करोड ८७ लाख रुपैयाँबाट बढेर ४५ करोड ३ लाख रुपैयाँ पुगेको छ। त्यस्तै सञ्चालन आम्दानी ३७ करोड ९१ लाखबाट ४९ करोड ९४ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा २५०.५३ प्रतिशतले बढ्दै १६ करोड २७ लाख रुपैयाँमा पुगेको छ।

यो वित्तीय प्रगतिको असर कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) मा पनि देखिएको छ। अघिल्लो वर्ष १४.३० रुपैयाँ रहेको ईपीएस अहिले बढेर ४४.०९ रुपैयाँ पुगेको छ।

कम्पनीको खराब कर्जा अनुपात पनि घट्दै ४.९५ प्रतिशतबाट ४.५४ प्रतिशतमा झरेको छ। २६ करोड ६४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोष ११ करोड ३३ लाख र रिजर्भ ३५ करोड ८६ लाख रुपैयाँ रहेको छ।

सात अर्बको कर्जा कारोबार पुगेको कम्पनीले ३ अर्ब १० करोड रुपैयाँ सापटी लिई ६ अर्ब २५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ भने २ अर्ब ७४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।

हाल कम्पनीको प्रतिशेयर नेटवर्थ २७७.१७ रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको समाप्तिसम्म वितरणयोग्य नाफा ९ करोड १० लाख रुपैयाँ पुगेकाले लाभांश दिने क्षमतासमेत बलियो देखिएको छ।

 

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार