काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा उल्लेखनीय वित्तीय प्रगति गरेको छ। कम्पनीको खुद नाफा, आम्दानी, सञ्चालन मुनाफा र ईपीएस (EPS) सबै सूचक सकारात्मक देखिएका छन्।
कम्पनीले आज सार्वजनिक गरेको वित्तीय विवरणअनुसार, अघिल्लो वर्षको असार मसान्तसम्म ६ करोड रुपैयाँ नाफा कमाएको संस्थाले हालै सम्पन्न आर्थिक वर्षको अन्त्यसम्म २४८.२८ प्रतिशतले वृद्धि गर्दै २० करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
नाफामा आएको उछालको पछाडि ब्याज आम्दानी र सञ्चालन आम्दानीमा देखिएको वृद्धि मुख्य कारण हो। अघिल्लो वर्ष ४४ करोड ११ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी ६७.४७ प्रतिशतले बढेर ७३ करोड ८८ लाख रुपैयाँ पुगेको छ। यस्तै, सञ्चालन आम्दानी ५४ करोड १३ लाखबाट बढेर ७९ करोड १७ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ८ करोड ४८ लाख रुपैयाँबाट तीनगुना बढ्दै ३० करोड १६ लाख रुपैयाँमा पुगेको छ।
यससँगै, कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) ९.३७ रुपैयाँबाट बढेर २८.५५ रुपैयाँ पुगेको छ। साथै, खराब कर्जा (एलपीएल) पनि घट्दै ४.८१ प्रतिशतबाट ४.४८ प्रतिशतमा झरेको छ।
७३ करोड ३० लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिजर्भ कोषमा ३७ करोड ७ लाख रुपैयाँ रहेको छ। वितरणयोग्य नाफा (लाभांश क्षमता) पनि १२.७५ प्रतिशतले बढेर १६ करोड ३६ लाख रुपैयाँ पुगेको छ।
आर्थिक वर्षको समाप्तिसम्म आशा लघुवित्तले ६ अर्ब ४५ करोड रुपैयाँ सापटी लिई १० अर्ब ४४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ भने ३ अर्ब २१ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ। हाल कम्पनीको प्रतिशेयर नेटवर्थ १७२.९० रुपैयाँ पुगेको छ।

