नाफा साढे ७१ अर्ब रुपैयाँ हुँदा पनि २१ अर्बमात्र लाभांश वितरण गर्न सकिने अवस्थामा बैंकहरू

काठमाडौं । गत वर्ष वाणिज्य बैंकहरुले साढे ७१ अर्ब रुपैयाँ बढी खुद नाफा आर्जन गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष २०८१÷८२ मा बैंकहरुले ७१ अर्ब ५१ करोड ७ लाख १८ हजार रुपैयाँ नाफा गरेका हुन् । जुन अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकहरुको नाफा ४३.३९ प्रतिशत अर्थात् २१ अर्ब ६३ करोड ९२ लाख ९१ हजार रुपैयाँ बढी हो । अघिल्लो वर्ष २० वटा वाणिज्य बैंकले ४९ अर्ब ८७ करोड १४ लाख २७ हजार रुपैयाँ नाफा गरेका थिए ।

 

गत वर्ष ४ बैंकबाहेक अधिकांश बैंकको नाफामा वृद्धि भएको देखिन्छ । गत वर्ष सबैभन्दा धेरै नाफा आर्जन नबिल बैंकले गरेको छ । नबिल बैंकले ७ अर्ब १२ करोड ७५ लाख ६६ हजार रुपैयाँ नाफा गरेको हो । जुन वाणिज्य बैंकहरुमा सबैभन्दा धेरै हो । अघिल्लो वर्ष बैंकले ६ अर्ब १९ करोड ७१ लाख ९ हजार रुपैयाँ नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकको नाफा १५.०१ प्रतिशत बढी हो । यस्तै, सबैभन्दा धेरै नाफा गर्नेको दोस्रो सूचीमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि) रहेको छ । बैंकको गत वर्ष खुद नाफा ६४.४३ प्रतिशत बढेर ६ अर्ब ७५ करोड ६६ लाख ४९ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षमा बैंकले ४ अर्ब १० करोड ८८ लाख ९२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

 

यस्तै, ग्लोबल आइएमई बैंकको नाफा १.०९ प्रतिशत बढेर ६ अर्ब २० करोड ४७ लाख ४५ हजार रुपैयाँ आर्जन गरेको छ । बैंकले अघिल्लो वर्ष ६ अर्ब १३ करोड ७४ लाख ५४ हजार रुपैयाँ खुद नाफा गरेको थियो । प्रभु बैंकको गत वर्ष नाफा ९६५.४० प्रतिशत बढेर ५ अर्ब ४४ करोड २६ लाख ९३ हजार रुपैयाँ आर्जन गरेको छ । बैंकले अघिल्लो वर्ष ५१ करोड ८ लाख ५६ हजार रुपैयाँ खुद नाफा गरेको थियो । एभरेष्ट बैंकको नाफा ३२.८० प्रतिशत बढेर ४ अर्ब ९१ करोड ८१ लाख ६५ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ३ अर्ब ७० करोड ३२ लाख २५ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।

 

कृषि विकास बैंकको गत वर्ष खुद नाफा ४३.३८ प्रतिशत बढेर ४ अर्ब १५ करोड ४४ लाख ७५ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले २ अर्ब ८९ करोड ७४ लाख ८७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
लक्ष्मी सनराइज (एलएस) बैंकको गत वर्ष नाफा ४०.९७ प्रतिशत बढेर ४ अर्ब ११ करोड ६९ लाख ६७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षमा बैंकले २ अर्ब ९२ करोड ३ लाख ७९ हजार खुद नाफा आर्जन गरेको थियो ।
प्राइम बैंकको गत वर्ष नाफा १४.७२ प्रतिशत बढेर ४ अर्ब २ करोड ४४ लाख ३१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षमा बैंकले ३ अर्ब ५० करोड ७८ लाख ९४ हजार खुद नाफा आर्जन गरेको थियो । राष्ट्रिय वाणिज्य बैंकको गत वर्ष खुद नाफा ४९.५३ प्रतिशत बढेर ३ अर्ब ८१ करोड ६७ लाख ९ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षमा बैंकले २ अर्ब ५५ करोड २४ लाख ६७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । नेपाल बैंकको गत वर्ष खुद नाफा १३ हजार १७५ प्रतिशत बढेर ३ अर्ब ७७ करोड ३० लाख ८ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षमा बैंकले २ करोड ८४ लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

 

सिद्धार्थ बैंकको गत वर्षमा खुद नाफा १०.२३ प्रतिशत बढेर ३ अर्ब ३९ करोड ५२ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ३ अर्ब ८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । एनएमबि बैंकको गत वर्ष नाफा ४६.२२ प्रतिशत अर्थात् १ अर्ब ३ करोड ७३ लाख ९६ हजार रुपैयाँ बढेर ३ अर्ब २८ करोड १७ लाख ९१ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले २ अर्ब २४ करोड ४३ लाख ९५ हजार रुपैयाँ खुद नाफा गरेको थियो । स्ट्याण्डर्ड चार्टर्ड बैंकको खुद नाफा ७.५० प्रतिशत घटेर ३ अर्ब २ करोड ९३ लाख ३ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ३ अर्ब २७ करोड ५२ लाख ६८ हजार रुपैयाँ नाफा गरेको थियो । सानिमा बैंकको गतमा खुद नाफा ७.२४ प्रतिशत बढेर २ अर्ब ५७ करोड ११ लाख ५५ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले २ अर्ब ३९ करोड ७४ लाख ४३ हजार रुपैयाँ खुद नाफा गरेको थियो । कुमारी बैंकको खुद नाफा ४५ हजार ८२९ प्रतिशत बढेको छ । बैंकको नाफा वृद्धिदर समग्र बैंकिङ क्षेत्रमै उच्च हो । बैंकले गत वर्ष २ अर्ब ११ करोड ६४ लाख ९ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ४६ लाख ८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

 

माछापुच्छ्रे बैंकको खुद नाफा ९२.४४ प्रतिशत अर्थात् ९६ करोड ६२ लाख ६२ हजार रुपैयाँ बढेर २ अर्ब १ करोड १४ लाख ६१ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब ४ करोड ५१ लाख ९९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । नेपाल एसबिआई बैंकको गत वर्ष नाफा ९.८६ प्रतिशत घटेर १ अर्ब ८० करोड २५ लाख ८० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षमा बैंकले १ अर्ब ९९ करोड ९७ लाख ७२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
हिमालयन बैंकको गत वर्ष नाफा २२.१४ प्रतिशत बढेर १ अर्ब ५१ करोड २५ लाख ३२ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब २३ करोड ८३ लाख ३ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।

 

सिटिजन्स बैंकको गत वर्ष खुद नाफा २ प्रतिशत घटेर १ अर्ब २९ करोड ३२ लाख २१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब ३२ करोड ७ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । एनआईसी एशिया बैंकको गत वर्ष नाफा ७६.९६ प्रतिशत घटेर १६ करोड १५ लाख ७३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ७० करोड १४ लाख ९७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

 

२१ अर्बमात्र लाभांश वितरण गर्न सक्ने
वाणिज्य बैंकहरूले २१ अर्ब रूपैयाँ बराबरको मात्र लाभांश वितरण गर्न सक्ने देखिएको छ । बैंकहरूले प्रकाशन गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार उनीहरूले ७१ अर्ब रूपैयाँ खुद नाफा गर्दा १ तिहाइभन्दा कममात्र सेयरधनीलाई दिन सक्ने देखिएको हो । बैंकहरूले खुद नाफाबाट २० प्रतिशत रकम अनिवार्य रूपमा जगेडामा छुट्याउनुपर्छ, त्यसपछि क्यापिटल रिडेम्सन रिजर्भ, संस्थागत सामाजिक उत्तरदायित्व, कर्मचारी तालीम कोषमा पनि रकम छुट्याउनुपर्छ । त्यसपछि बक्यौता ब्याज र गैरबैंकिङ सम्पत्तिको आधा रकम नियामकीय जगेडामा राख्नुपर्छ । अन्य विविभ दायित्व समेत हिसाब गरेपछि बाँकी रहेको रकम लाभांशको रूपमा वितरण गर्न सक्छन् ।

 

तसर्थ ७१ अर्ब ४९ करोड रूपैयाँ खुद नाफा गरे तापनि बैंकहरूले २१ अर्ब ६८ करोड रुपैयाँमात्र वितरण गर्न सक्ने देखिन्छ । वित्तीय विवरणअनुसार सबैभन्दा बढी सञ्चित नाफा वा कुल वितरणयोग्य नाफा ग्लोबल आईएमई र दोस्रो धेरै एभरेष्ट बैंकको छ । ४ बैंक भने अझै सञ्चित नोक्सानीमा छन् । सबैभन्दा बढी सञ्चित नोक्सानी हिमालयन बैंकको छ । वितरणयोग नाफाका आधारमा सबैभन्दा धेरै लाभांश दिने क्षमता एभरेष्ट बैंकको छ । एभरेष्टले ३८.२७ प्रतिशत लाभांश दिने क्षमता राख्दा सानिमा दोस्रो र स्ट्यान्डर्ड चार्टर्ड तेस्रो स्थानमा छ । सञ्चित नोक्सानीमा रहेका बैंकले लाभांश दिन सक्दैनन् ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार