हालै सार्वजनिक भएका वित्तीय तथ्याङ्कले नेपालको बैंकिङ क्षेत्रको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा उल्लेखनीय रूपमा बढेको देखाउँछ। औसत रूपमा ४३ प्रतिशतभन्दा बढीको नाफा वृद्धि, सतही रूपमा हेर्दा, बैंकिङ प्रणालीको स्वास्थ्य र व्यवस्थापन क्षमताको सूचक जस्तो देखिन्छ। तर, यो वृद्धि कति हदसम्म दीर्घकालीन, उत्पादनमुखी र अर्थतन्त्रमा प्रत्यक्ष योगदान पु¥याउने हो, त्यसबारे गहिरो बहस आवश्यक छ। नाफा वृद्धि सबै संस्थामा समान रूपमा आएको छैन। केही बैंकमा वृद्धि असामान्य रूपमा सयौँ वा हजारौँ प्रतिशतसम्म पुगेको छ, जसको कारण प्रायः एक पटकका असामान्य आम्दानी, विलय–गठनपछि देखिएका लेखापरीक्षणीय लाभ, वा जोखिमयुक्त लगानीबाट प्राप्त छोटो अवधिको फाइदा हुन सक्छ। यस्तै, केही बैंकमा नाफा घट्नु प्रतिस्पर्धा तीव्र हुनु, ब्याजदर घट्दा मार्जिन घट्नु, वा गुणस्तरीय ऋण प्रवाहमा कमी आउनु जस्ता कारणले भएको देखिन्छ। यी अन्तरहरूले बैंकिङ क्षेत्रभित्रको संरचनात्मक विविधता र जोखिमको स्तर दुवैलाई स्पष्ट पार्छ।
वर्तमान वित्तीय प्रणालीमा तरलताको अभाव छैन। निक्षेप प्रशस्त छ, तर त्यो पुँजी गुणस्तरीय र उत्पादनमुखी क्षेत्रमा प्रवाह हुन सकेको छैन। मौद्रिक नीतिले ब्याजदरमा केही सहजता ल्याए पनि निजी क्षेत्रको ऋण माग अझै कमजोर छ। यसले बैंकलाई ब्याज आम्दानी, सेवा शुल्क र लगानी आयमार्फत नाफा बढाउन सजिलो बनाएको छ, तर वास्तविक उत्पादन र रोजगारी सिर्जनामा यसले तत्काल प्रभाव पारिरहेको छैन। बजार र उत्पादनको सम्बन्ध यस सन्दर्भमा प्रत्यक्ष छ। बजारमा उपभोगको माग सुस्त हुँदा उत्पादन विस्तारमा अवरोध आउँछ, जसले पुनः बजारको आकार र गतिलाई सीमित बनाउँछ। उत्पादनशील क्षेत्र—कृषि, उद्योग, पर्यटन, ऊर्जा—मा पर्याप्त पुँजी प्रवाह नपुग्दा रोजगारी सिर्जना र आय वृद्धि पनि स्थायी रूपमा सम्भव हुँदैन। यदि वित्तीय नाफा कागजमै सीमित रह्यो र त्यसको ठुलो हिस्सा उत्पादन र बजार विस्तारमा पुनः लगानी भएन भने, आर्थिक वृद्धि असन्तुलित रहिरहनेछ।
नेपालमा लगानीका अवसरको अभाव छैन। ऊर्जा क्षेत्रमा जलविद्युत् र नवीकरणीय ऊर्जा, पूर्वाधार क्षेत्रमा सडक, पुल, यातायात, कृषि क्षेत्रमा प्रशोधन उद्योग, पर्यटन क्षेत्रमा नयाँ गन्तव्य विकास, तथा सूचना प्रविधिमा डिजिटल सेवा र स्टार्टअप—यी सबैमा दीर्घकालीन प्रतिफल दिने क्षमता छ। भौगोलिक विविधता र जनसंख्याको खपत क्षमताले नयाँ बजार सिर्जना गर्ने सम्भावना पनि प्रशस्त छ। तर यस्ता अवसरलाई उपयोग गर्न नीति, पूर्वाधार र कार्यान्वयन क्षमतामा ठुलो सुधार आवश्यक छ। चुनौतीहरू भने उत्तिकै गम्भीर छन्। नीतिगत अनिश्चितताले लगानीकर्ताको विश्वास कमजोर पार्छ। कर संरचना र वैदेशिक लगानीका नियम बारम्बार बदलिनु, पूर्वाधारको अभाव, बजार पहुँचको कमी, तथा उच्च उत्पादन लागतले प्रतिस्पर्धात्मकता घटाउँछ। राजनीतिक अस्थिरता, प्राकृतिक प्रकोप र अन्तर्राष्ट्रिय बजारको उतारचढावले पनि दीर्घकालीन लगानीका लागि जोखिम बढाउँछ। यसै कारण, धेरै बैंक र निजी लगानीकर्ताले छोटो अवधिमा उच्च प्रतिफल दिने क्षेत्रमा पुँजी केन्द्रित गर्छन्, जसले उत्पादन र रोजगारीमा दीर्घकालीन सुधार ल्याउन सक्दैन।
यस परिस्थितिमा, वित्तीय नाफालाई मात्र सफलता ठान्ने प्रवृत्ति बदल्नु जरुरी छ। नाफा वृद्धि र आर्थिक विकासबिचको अन्तरलाई घटाउन बैंकहरूले उत्पादनशील क्षेत्रमा लगानी बढाउनुपर्छ, सरकारले दीर्घकालीन स्थिर नीति ल्याउनुपर्छ, र निजी क्षेत्रले नवप्रवर्तन तथा बजार विस्तारमा अग्रसर हुनुपर्छ। पुँजी बजारलाई दिगो बनाउन, पूर्वाधारमा निजी लगानी आकर्षित गर्न र व्यावसायिक वातावरण सुधार गर्न राज्यको भूमिकामा स्पष्टता र प्रतिबद्धता आवश्यक छ। अन्ततः, नेपालको अर्थतन्त्रको स्वास्थ्य केवल बैंकको नाफा सूचकांकले मापन गर्न सकिँदैन। त्यो नाफा बजार, उत्पादन र रोजगारीमा कस्तो योगदान पु¥याउँछ भन्ने नै वास्तविक सूचक हो। यदि वित्तीय प्रणालीले आफ्नो लाभांश क्षमतालाई उत्पादन र रोजगारी सिर्जनामा परिणत गर्न सकेन भने, नाफा वृद्धि केवल सांख्यिकीय उपलब्धि मात्र हुनेछ। अब समय आएको छ—बैंक, बजार र उत्पादनबिचको सम्बन्धलाई मजबुत बनाउँदै, लगानीका अवसरहरूलाई चुनौतीबिच पनि प्रयोगमा ल्याउने। यही बाटोले मात्र नाफा वृद्धि र दीर्घकालीन आर्थिक समृद्धिलाई एउटै रेखामा ल्याउन सक्नेछ।

