काठमाडौं । नेपालगन्जबाट भारतको नयाँदिल्ली सिधा हवाई उडानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाइएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघ बाँकेका अध्यक्ष टंकबहादुर धामी संयोजक रहेको नेपालगन्ज दिल्ली हवाई उडान दबाब समूूहसहित बाँके र बर्दियाका प्रतिनिधिसभा सदस्य, स्थानीय तह प्रमुख, राजनीतिक दल, नागरिक समाज, उद्योगी–व्यवसायी सम्मिलित २० सदस्यीय प्रतिनिधि मण्डलले सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा ओलीलाई ज्ञापनपत्र बुझाएको हो ।
बाँकेका प्रतिनिधिसभा सदस्य, स्थानीय तह, जिल्लाका राजनीतिक दलको ऐक्यबद्धता पत्रसहितको नेपालगन्ज दिल्ली उडानको आवश्यकता, औचित्य र फाइदा र प्रधानमन्त्रीको आसन्न भारत भ्रमणको एजेन्डामा समेट्नुपर्ने विषय बारेको ८२ पृष्ठको अवधारणा पत्रसहितको ज्ञापनपत्र बुझाइएको हो । ‘म नेपालगन्ज दिल्ली सिधा हवाई एजेन्डा बोकेर जान्छु । मोदीजीले के गर्नुहुन्छ ?’, भेटपछि प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै संयोजक धामीले भने, ‘सम्माननीय प्रधानमन्त्री ओली हाम्रो मागप्रति सकारात्मक हुनुभएको छ । भारत भ्रमणको एजेन्डामा नै समेट्छु भन्दा हामी निकै आशावादी भएका छौं ।’प्रधानमन्त्री ओलीले नेपालगन्ज विमानस्थलको धावनमार्ग थप विस्तार र जमिन संरक्षणलगायतका काममा पनि चासो दिन आग्रह गरेका थिए ।
यसैबीच, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालगन्ज–दिल्ली सिधा हवाई उडानका लागि प्रभावकारी पहल आवश्यक भएको बताए । ‘नेपालगन्ज पर्यटन, कृषिलगायत क्षेत्रका लागि पर्याप्त सम्भावना भएको क्षेत्र हो । सिधा उडान हुन सके यसले पश्चिम नेपालको क्षेत्रीय सम्पर्क र आर्थिक विकासका लागि महत्वपूर्ण योगदान दिन सक्छ । यहाँहरूको यो पहल र प्रयासप्रति महासंघ ऐक्यबद्धता जाहेर गर्दछ’ अध्यक्ष ढकालले भने । नेपालजन्ज दिल्ली सिधा उडानले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको समग्र विकाससँग जोडिएको विषय भएको बताउँदै अध्यक्ष ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणमा यो एजेन्डालाई प्राथमिकताका साथ उठाउन महासंघको तर्फबाट प्रधानमन्त्रीसमक्ष आग्रह गर्नेप्रतिबद्धता पनि व्यक्त गरे ।
महासंघका पूर्वअध्यक्ष भवानी राणाले मुलुक संघीयतामा गइसकेपछि बाँके, बर्दिया ओझेलमा परेको भन्दै नेपालगन्ज दिल्ली सिधा उडानले यस क्षेत्रको आर्थिक समाजिक विकासमा टेवा पुग्ने बताए । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपालको पश्चिम क्षेत्रको हबको रूपमानेपालगन्ज विकास भइरहेकाले पनि सिधा उडान अपरिहार्य भएको बताए । नेपालगन्ज–दिल्ली हवाई उडान दबाब समूह नेपालगन्ज बाँकेले राजधानीमा सर्वपक्षीय छलफलदेखि प्रधानमन्त्री, परराष्ट्रमन्त्री, पर्यटनमन्त्रीलगायतसँग भेटेर सिधा उडानको पहल गरिरहेको नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए ।
हामीले प्राथमिकतामा राखेका छौं: परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपालगन्ज र भारतको नयाँदिल्ली सिधा उडानका लागि आफूले सक्दो पहल गर्ने बताएकी छन् । नेपालगन्ज दिल्ली उडानका लागि पहल गरिदिन आग्रह गर्दै सोमबार मन्त्रालयमा आएका बाँकेका प्रमुख राजनीतिक दलका नेता, संघीय संसद्मा प्रतिनिधित्व गर्ने बाँके र बर्दियाका सांसद, उद्योगी व्यवसायी, नागरिक समाजका प्रतिनिधि एवं अन्य सरोकारवालाहरूसँग उनले सो प्रतिबद्धता व्यक्त गरेकी हुन् ।
मन्त्री राणाले भनिन्, ‘सो उडानका लागि मैले पहिलेदेखि नै पहल गर्दै आएकै छु । नेपालगन्ज दिल्ली उडानको एजेन्डालाई हामीले प्राथमिकतामा राखेका छौं । यो उडानले नेपाल र भारतलाई नै पारस्परिक लाभ पुग्ने र कनेक्टिभिटी जति बढाउन सक्यौं त्यति धेरै नेपाललाई फाइदा पुग्ने भएकाले म यो उडानका लागि लागि पर्नेछु ।’ उनले नेपाल र भारतका बीचमा कनेक्टिभिटी बढाउन सक्दा मात्र पर्यटन, पारवहन, उद्योग व्यापार तथा जनसम्पर्क लगायतमा वृद्धि हुने र यसबाट दुवै पक्षलाई लाभ पुग्ने बताइन् । यो उडानले पश्चिम नेपालको अर्थतन्त्रमा उल्लेख्य योगदान पुग्ने र त्यस क्षेत्रको मुहार नै फेरिने बताउँदै मन्त्री राणाले नेपालगन्जमा पनि होटललगायतका आवश्यक पर्यटन पूर्वाधारहरू बनिसकेकाले नेपालगन्ज दिल्ली उडानका लागि आफू गम्भीरताका साथ लाग्ने बताइन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणमा यस विषयलाई प्राथमिकताको एजेन्डाका रूपमा समावेश गरिदिन बाँके र बर्दियाका उद्योगी व्यवसायी तथा राजनीतिक दलसहितको सर्वपक्षीय टोलीले सोमबार मन्त्री राणालाई भेटेर सो आग्रह गरेका थिए ।त्यस अवसरमा उनीहरूले नेपालगन्जलाई ‘मानसरोवर गेटवे’ का रूपमा स्थापित गर्न नेपालगन्ज–दिल्ली सिधा उडान अपरिहार्य रहेको बताउँदै यसबाट सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका करिब २५ जिल्लाका बासिन्दालाई प्रत्यक्ष लाभ पुग्ने उल्लेख गरेकी थिइन् । उनले सो विमानस्थलबाट प्रतिघण्टा ६ सय यात्रुलाई सेवा दिन सकिने र यस उडानका लागि आवश्यक सबै पूर्वाधारहरू निर्माण पनि भइसकेको जानकारी गराएकी थिइन् ।

