गरिबीको अँध्यारोबाट शिक्षाको उज्यालो यात्राः परशुराम भण्डारी र न्यू स्टार इ.बो. विद्यालयको प्रेरणादायी गाथा

प्रकाश मिश्र/ कैलाली
महाकाली पारीको दोधारा, बाबाथान नजिकै २०३२ साल भदौ ५ गते एक गरिब परिवारमा जन्मेका परशुराम भण्डारीको जीवन यात्रा अभाव र संघर्षका बीचबाट शिक्षाको ज्योति फैलाउने एक प्रेरणादायी गाथा हो । चरम गरिबी र प्रतिकूलतालाई चिर्दै उनी कसरी शिक्षा क्षेत्रमा एक दूरदर्शी व्यक्तित्वका रूपमा स्थापित भए र न्यू स्टार इ.बो. विद्यालयलाई ‘नमूना र संस्कारयुक्त शिक्षा दिने विद्यालय’ बनाउने सपना देखिरहेका छन् भन्ने कुरा उनको जीवनको हरेक पाइलामा झल्किन्छ । परशुरामको बाल्यकाल अभावै अभावमा बित्यो । दमका रोगी बुवाले आर्थिक भार धान्न नसक्दा आमाले नै खेतीपाती र घर व्यवहारको सम्पूर्ण जिम्मेवारी आफ्नो काँधमा लिएकी थिइन् । श्री लक्ष्मी नि.मा.वि., बाबाथानमा कक्षा एक उत्तीर्ण गरेपछि उनको परिवार साबिक पथरैया गाउँ पञ्चायतको मटेरामा बसाइँ सर्यो । यो बसाइँसराइले पनि उनको जीवनमा थिचोमिचो, अन्याय र अभावको चक्रलाई निरन्तरता दियो ।

 

यी सबै प्रतिकूलताका बाबजुद परशुरामकी आमाले उनलाई विद्यालय पठाउन कहिल्यै छोडिनन् । आमाको अथक प्रयास र शिक्षाप्रतिको गहिरो विश्वासले गर्दा परशुरामले मटेराबाट करिब ५÷६ किलोमिटर टाढा रहेको अरुणोदय माध्यमिक विद्यालय, खैरिफाटामा कक्षा दुईमा भर्ना भए । दैनिक एक घण्टा पैदल हिँडेर विद्यालय पुग्ने र फर्किने उनको दैनिकी थियो । त्यो समयमा बिजुली वा मोबाइलको सुविधा थिएन । राति मट्टीतेलको टुकी बालेर पढ्नुपथ्र्यो । कपी, कलम र विद्यालय पोसाकको जोहो गर्न पनि आमालाई हम्मे–हम्मे पथ्र्यो । कहिले ज्याला मजदुरी गरेर त कहिले कटासे बजारमा तरकारी बेचेर आमाले उनको पढाइको व्यवस्था मिलाइदिन्थिन् ।

 

उनको जीवनमा एउटा अविस्मरणीय घटना २०४६ सालमा भयो । मंसिर १५ गते कक्षा ७ को जिल्लास्तरीय परीक्षा सुरु हुनुभन्दा ठीक छ दिनअघि, उनले आफ्नो बुवा गुमाए । किरियामा बसेकै अवस्थामा पनि अग्रजहरूको सहयोगमा उनले परीक्षा दिए र उत्तीर्ण मात्र भएनन्, कक्षामा दोस्रो स्थान हासिल गरेर आफ्नो दृढ संकल्पलाई प्रमाणित गरे । संघर्ष र लगनशीलताका साथ अघि बढ्दै उनले २०४९ सालमा प्रवेशिका परीक्षा उत्तीर्ण गरे ।

 

शिक्षण पेशामा प्रवेश र शैक्षिक नेतृत्वको विस्तार
गरिबी र अभावले नै परशुरामलाई शिक्षण पेशामा प्रवेश गर्न बाध्य बनायो । सुरुमा उनले आफ्नो टोलका भाइबहिनीहरूलाई पढाउन थाले, जसबाट उनलाई केही आम्दानी पनि हुन थाल्यो । यस क्रममा, लम्कीको ’बड सार्वजनिक विद्यालय’ बाट मासिक रू. १,००० मा पढाउने प्रस्ताव आयो र उनी त्यहाँ शिक्षक भए । त्यसपछि उनले ’श्री लम्की सार्वजनिक विद्यालय’ को प्रधानाध्यापक भएर काम गर्ने अवसर पाए, जहाँ मासिक तलब रू. २,५०० थियो । २०५० सालमा विवाहपछि पनि उनको उच्च शिक्षाको यात्रा जारी रह्यो । २०५२ सालमा उनी सिद्धनाथ बहुमुखी क्याम्पस, महेन्द्रनगरमा गएर प्रवीणता प्रमाणपत्र तह (गणित) विषय लिएर पढ्न थाले । त्यहीँ उनको भेट लिटिल एन्जल्स विद्यालयका संस्थापक दयाराम चौधरीसँग भयो ।

लगातार प्रधानाध्यापकको भूमिकामा रहेका परशुरामलाई २०५४ सालको अन्त्यतिर दयाराम चौधरी र सोमेन्द्र चौधरीले सुखडमा नयाँ विद्यालय खोल्न र त्यसको नेतृत्व गर्न अनुरोध गरे । धेरै आग्रहपछि उनी तयार भए र २०५५ सालमा उनको नेतृत्वमा ’लिटिल एन्जल्स विद्यालय’ सुखडमा स्थापना भयो । उनले दुई वर्षसम्म संस्थापक प्रधानाध्यापक भएर विद्यालयलाई एउटा नमूनाका रूपमा स्थापित गरे । त्यसपछि उच्च शिक्षाका लागि विद्यालय छोडे पनि अभिभावकहरूको आग्रहमा उनले घोटिनिया जनकपुर चोक नजिकै ’पिसलाइट विद्यालय’ खोलेर संस्थापक÷प्रधानाध्यापक भएर २०५७÷०५८ सम्म चलाए ।

 


शिक्षामा संस्कार र व्यवहारिक ज्ञानको पैरवी
जब परशुराम भण्डारी पहिलोपटक प्रधानाध्यापक भए, उनको मनमा एउटा कुरा सधैं खेलिरहन्थ्यो— ’विद्यार्थीमा अनुशासन, नैतिकता, असल कर्म र मिहिनेतको संस्कार कसरी विकसित गराउने?’ उनको शैक्षिक दर्शनले किताबी ज्ञानसँगै जीवनोपयोगी सीप र व्यवहारिक शिक्षा मा जोड दिन्छ । यसै अनुरूप, उनले विद्यालयमा विभिन्न रचनात्मक कार्यक्रमहरू लागू गरे । उनले ’पुस्तकमुक्त दिवस’ को अवधारणा ल्याए, जहाँ विद्यार्थीहरूले पाठ्यक्रम बाहिरका गतिविधि र सीप विकासमा केन्द्रित भएर काम गर्थे । साथै, उनीहरूले मानव बेचबिखन र लागू औषध विरुद्ध जनचेतनामूलक कार्यक्रमहरू पनि चलाए ।

 

भण्डारीको विश्वास छ कि ’सम्बन्ध सुधार’ शिक्षा सुधारको पहिलो खुड्किलो हो । उनले शिक्षक र विद्यार्थीबीचको सम्बन्धलाई सुदृढ बनाउन ’हृदय संवाद’ जस्ता कार्यक्रमहरू सञ्चालन गरे । शिक्षकहरूलाई नम्र, उदाहरणीय र असल संस्कारी बन्न तालिम दिए । विद्यार्थीको मनोविज्ञान बुझेर उनीहरूको रुचि र क्षमता अनुसार पढाउन प्रेरित गरे । दण्ड जरिवानाको सट्टा माया र स्नेहको प्रयोग गरी विद्यार्थीलाई सकारात्मक तरिकाले सिकाउन उनले जोड दिए ।

 

आधुनिक प्रविधि र सामुदायिक सहकार्य
न्यू स्टार विद्यालयले आधुनिक शिक्षण प्रविधि र नवीन कार्यहरूको सफल कार्यान्वयन गरिरहेको छ । भण्डारी भन्छन्, “प्रविधि र नवप्रवर्तन शिक्षामा रङ मात्र होइन, गहिराइ पनि थप्ने साधन हुन् ।“ यसै मान्यताका साथ विद्यालयले शैक्षिक भिडियो, स्मार्ट बोर्ड, र अन्य मल्टिमिडिया सामग्रीहरूको प्रयोग गरिरहेको छ । ’डिजिटल दूरी दिवस’ जस्ता कार्यक्रम चलाएर विद्यार्थीहरूलाई प्रविधिको सीमित र सकारात्मक प्रयोग सिकाउँछ । भण्डारीको दृष्टिमा, विद्यालय केवल शिक्षण सिकाइको केन्द्र मात्र नभएर समाज रूपान्तरणको आधारशिला पनि हो । त्यसैले, उनले समुदाय र विद्यालयबीचको सहकार्यलाई अनिवार्य मान्छन् । विद्यालयले समुदायको संस्कार र आवश्यकतालाई ध्यानमा राखेर विभिन्न कार्यक्रमहरू आयोजना गर्छ, जसमा अभिभावकहरूलाई पनि सहभागी गराइन्छ । विद्यार्थीद्वारा आफ्ना अग्रजहरूलाई आदर–सत्कार गर्ने कार्यक्रमहरू गरेर समुदायमा सकारात्मक सन्देश प्रवाह गरिन्छ ।

गौरवशाली लक्ष्य र सफलताको परिभाषा
न्यू स्टार इ.बो. विद्यालयको लक्ष्य घोडाघोडी नगरपालिकामा मात्र नभई राष्ट्रिय स्तरमै एक उत्कृष्ट र आदर्श नमूना विद्यालयको रूपमा स्थापित हुनु हो । यसका लागि उनीहरूले गुणस्तरीय शिक्षासँगै विद्यार्थीमा राष्ट्र प्रेम, असल चरित्र र स्वावलम्बनको भावना विकास गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन् । परशुराम भण्डारीका लागि सफलता भनेको आत्मसन्तुष्टि हो, जुन सकारात्मक, सत्य र परिवर्तित समाज रूपान्तरणउन्मुख प्रयासबाट प्राप्त हुन्छ । उनी भन्छन्, “सफलता भनेको समाजमा बालबालिकाहरूलाई असल संस्कारबाट सु–सज्जित गराई जीवनोपयोगी गुणस्तरीय शिक्षा प्रदान गरेर राष्ट्रका लागि योगदान गर्न सक्ने दक्ष राष्ट्रभक्त नागरिक उत्पादन गर्नु हो ।“यो सपना साकार पार्न न्यू स्टार इ.बो. विद्यालयले संस्कारसहितको शिक्षा र जीवनोपयोगी सीपमा आधारित व्यावहारिक शिक्षालाई प्राथमिकता दिइरहेको छ । निकट भविष्यमा विद्यालयलाई ’नमूना र संस्कारयुक्त शिक्षा दिने विद्यालय’ बनाउने उनको बलियो लक्ष्य र अभियानले भावी पुस्ताका लागि एक उज्ज्वल भविष्य निर्माण गर्न महत्वपूर्ण योगदान पु¥याउनेछ ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार