चौधरी र गोल्छाको ३ दशक अगाडिको व्यक्तिगत इगो ‘जुँगाको लडाइ’मा नेपाली अटोमोबाइल क्षेत्र

चेत नारायण पाण्डेय

कुनै समय थियो दशैको पूर्व सन्ध्यामा नेपाली अटो व्यवसायमा नयाँ तरङ्ग आउने ग¥थ्यो । दशैको मुखैमा लाखौँको छुटमा नेपाली ग्राहकहरूले नयाँ सवारी खरिद गरेका थिए । तर दसैँ सुरु हुन करिब डेढ महिना पहिले नै यसपालि काठमाडौँको भृकुटी मण्डपमा अटो शो संचानमा रहेको छ । न त ग्राहकको आकर्षण न त व्यवसायको उधम कारोबारका बिच चलिरहेको बुधवार (साउन २१ गते)बाट नेपाल अटो मोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा)को आयोजनामा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ केही व्यावसायिक घरानाको इगो ‘जुँगाको लडाइ’मा संस्थागत विभाजन नै भएर संचालन भएको छ । आज सकिन लागेको यो मोबिलिटी एक्स्पो यस अघिसम्म एउटै अटो शो हुने गरेकोमा नाडा अटो मोबाइल एसोसिएसन नेपाल (नाडा)बाट छुट्टिएपछि पहिलो पटक नाइमा मोबिलिटी एक्स्पो आयोजना भएको हो ।

 

अबको दश दिनमा फेरि नाडा अटो मोबाइल एसोसिएसन नेपाल (नाडा)को आयोजनमा यही स्थानमा आटो शो सुरु हुनेछ । कार्यगत एकता गरे पनि व्यावसायिक एकता कायम गर्न नसकेका यी दुवै संस्थाको संस्थागत प्रतिस्पर्धा मात्रै नभएर यिनका संचालक वा व्यावसायिक घराना बिचको हो । नेपालका एक मात्र फोब्समा पर्न सफल व्यवसायी विनोद चौधरीको चौधरी ग्रुप र शेखर गोल्छाको गोल्छा ग्रुप, ज्योति समूहको विभाजन पछि बनेको पद्म ज्योतिका छोरा सौरभले नेतृत्व गरेको पद्म ज्योति ग्रुप तथा सुरज वैद्यले नेतृत्व गरेको वैद्य अर्गनाइजेनको हो । चौधरी समूहले संचालन गरेको सिजी मोर्टस् क्रपले नेपालमा सुजुकी कम्पनीका सवारी साधन विक्री गर्छ भने यो व्यवसाय समालेका छन् विनोदका भाइ वसन्त चौधरीका छोरा करण चौधरीले । हाल करण नाडाका अध्यक्ष हुन । त्यस्तै अर्को संस्था नाइमाको नेतृत्वमा भएकी रितु सिंह वैद्य भने सुरज वैद्यकी कान्छी पत्नी हुन् ।

 

रितुको नेतृत्वमा नाइमा मा उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छा लगायत ११ जना व्यवसायी संगठित छन् । भने नाडामा करणको नेतृत्वमा ३५ व्यावसायिक सिंगो कार्यसमिति छ । २०८० पुस २० गते सम्पन्न नाडाको ४७ औँ साधारण सभा मार्फत अध्यक्षमा करण चौधरी निर्विरोध निर्वाचित भएका हुन्। चौधरी सँगै अर्का अध्यक्ष पदका आकांक्षी आकाश गोल्छाले आफू वरिष्ठ उपाध्यक्ष बन्ने सर्तमा अध्यक्ष छोडेका हुन् । पछि करण र चौधरी बिच अन्तरदन्द मौलाउँदै गएपछि केही समय नाडाको बैठक नै बसेको थिएन ।

 

अटो व्यवसायीलाई फुट र नाइमाको जन्म
अटो व्यवसायीलाई फुटको स्थितिमा पुराएको गोल्छा र चौधरी व्यावसायिक घरानाबिचको विवाद अहिले व्यवसायगत मात्रै नभएर नाडा र नाइमा सँगै जोडिएको छ । नेपालमा सुरुवात काल देखि नै हिरो होन्डा (पछि हिरो) र होन्डाको आधिकारिक विक्रेता पारिवारिक कलहका कारण ज्योति समूहबाट चौधरी समूहमा गत वर्ष मात्रै पुगेको थियो । ज्योति समूहको नेपाल जनरल मोट्र्स बाट सिजी मोट्र्सले नेपालमा हिरो मोटर साइकलको आधिकारिक विक्रेता खोसिएपछि सौरभ बदलाको मौकामा थिए ।


अनेक उतारचढाव र विवादबिच दशकौँदेखि एकताको सन्देश दिँदै आएको अटो क्षेत्र समय समयमा यी नै ठुला व्यावसायिक घरानाबिचको जुँगाको लडाइका कारण विवादमा फस्ने गरेका थिए । तथापि, विभाजित भने भइसकेका थिएनन् । तर, पछिल्लो डेढ वर्ष यताको गोल्छा र चौधरी घरानाबिचको विवादका कारण भने अटो क्षेत्र दुई कित्तामा विभाजित हुन बाध्य भयो । फलस्वरूप, लामो इतिहास बोकेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)बाट विभाजित भएर नेपाल अटोमोबाइल्स इम्पोर्टस एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) जन्मियो । नाइमा स्थापनाको एक महिना नबित्दै संस्थाको पदाधिकारीमा गरिएको हेरफेरले दुई व्यवसायीका घरानाबिचको विवाद झनै सतहमा देखियो । शेखरको आग्रहमा रितुलाई अध्यक्ष बनाएर नाइमा जन्मिए पनि त्यसैको हिस्सेदार बने सौरभ पनि । नेपालमा अटो क्षेत्रमा प्रविधिको अध्ययन तथा विकासमा काम गर्ने गरी दर्ता भएको नाइमा र नाडा ठुला भनिएका दुई घरानाको जुँगाको लडाइमा सीमित भएको छ ।

 

‘नाडालाई भ¥याङको रूपमा प्रयोग गरेर नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ जस्ता संस्थाको माथिल्लो नेतृत्वसम्म पुगे । लिनसम्म फाइदा लिएपछि अहिले अटो व्यवसायीलाई विभाजित गर्ने र संस्था सिद्ध्याउने काममा लागि परेका छन्,’ एक अटो व्यवसायीले भने, ‘आफूले लिनसम्म फाइदा लिएर व्यवसायी–व्यवसायी बिचमा फुट ल्याउँदा त्यसको असर समग्र अटो क्षेत्र र साना तथा मझौला व्यवसायीमा पर्न थालेको छ ।’ उनले जुनसुकै नाममा अटो क्षेत्रलाई यो स्थितिमा पु¥याउनु दुःखद र खेदजनक भएको बताए ।

 

विवादको जड वरिष्ठ उपाध्यक्ष गोल्छालाई सदस्यमा घटुवा
पछिल्लो पटक नाडा अध्यक्ष करण चौधरीले विधान संशोधन प्रक्रिया नपुगेको भन्दै वरिष्ठ उपाध्यक्ष आकाश गोल्छालाई सदस्यमा घटुवा गरेको आरोप गोल्छा समूहले लगाउँदै आएको छ । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने गरी डेढ वर्षअघि विधानसमेत संशोधन गरिए पनि हाल गोल्छालाई सदस्यमा घटुवा गरेको र विधान स्वीकृतिमा पहल नगरेको दाबी गोल्छा समूहको छ । चौधरी समूह भने विधान संशोधनपछि स्वीकृतिका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँ पठाइएको बताउँछ । सो क्रममा जिल्ला प्रशासनले विधान संशोधन प्रक्रियामाथि प्रश्न उठाउँदै संशोधनका लागि पठाएको पत्र अस्वीकार गरेको र स्वतः गोल्छा साधारण सदस्य कायम भएको तर्क गर्दै आएको छ ।

 

हाल गोल्छा नाडाको साधारण सदस्यमा झरेका छन् भने नाडाको मनोनीत सदस्यका रूपमा रहेका निशान ढकाल र अभिक ज्योति आमन्त्रित सदस्यमा सीमित छन् । यो विषयमा दुवै पक्षको तर्क छुट्टाछुट्टै छन् । जे होस् यो विषयले दुई घरानाबिचको दूरी झनै लम्बिएको छ । विशुद्ध दुई घरानाबिचको विवादको चेपुवामा समग्र नेपाली अटो क्षेत्र परेको गुनासो व्यवसायीहरू गर्न थालेका छन् । आफू बसेर सबैभन्दा बढी फाइदा लिएको ठाउँको अस्तित्व नै समाप्त पार्ने बाटोमा अगाडि बढ्ने निश्चित व्यक्तिको चेपुवामा नेपाली अटो क्षेत्र परेको व्यवसायीको तर्क छ । ‘अहिले स्वस्थ प्रतिस्पर्धा गर्ने वा यो क्षेत्रको सुधारमा काम गर्ने भन्दा पनि एकले अर्कोलाई सिद्ध्याउने ढंगमा निश्चित समूह लागि परेका छन्,’ उनले भने, ‘आज सीमित व्यक्तिको स्वार्थ र इगोको लडाइले दशकौँ पुरानो अटो क्षेत्रको अस्तित्व मेटिन लागेको छ।’ उनले दुई व्यवसायीका घरानाबिचको विवादका कारणले नै यो स्थिति सिर्जना भएको बताए ।

 

नाडा र नाइमा बिचमा सहकार्य कागजमा मात्रै
ठुला दुई घरानाबिचको विवाद बाहिर नआओस् भन्ने उद्देश्यका साथ नाडा र नाइमा बिचमा गएको चैत २४ मा एक किसिमको सहकार्यको सम्झौता भएको थियो । सम्झौतामा नाडा या नाइमा दुवैका सदस्य एक अर्का संस्थामा लागेमा पनि सदस्यता कायम हुने सहमति भयो । तर सदस्यमा घटुवा भएका गोल्छाले नाडाको बैठक जानै छाडे भने अर्का सदस्य यमुना श्रेष्ठ दुवै संस्थाको कार्यसमितिमा भएकाले बोलाउनै छोडिएको एक कार्यसमिति सदस्यले बताए । यो सम्झौता गर्ने समयमा नाडा अध्यक्ष चौधरी, नाइमा अध्यक्ष ऋतुसिंह वैद्यको साथमा स्वयम् शेखर गोल्छासमेत उपस्थित थिए । यसले नाडा र नाइमा दुवै संस्था सौहार्दपूर्ण सहकार्य गर्दै अगाडि बढ्ने अपेक्षा गरिएको थियो । तर, एक महिना नबित्दै सो सम्झौता राखिएको सहकार्य र सहयोग बुँदाको मजाक उडाइएको छ । सम्झौतामा अटो क्षेत्रको दिगोपन, नवप्रवर्तन र नीतिगत स्थिरतातर्फ अग्रसर हुँदै गर्दा नाडा र नाइमा दुवै संस्थाले व्यवसायीको हक तथा हित संरक्षणमा काम गर्ने उल्लेख गरिएको थियो।

अटो शो घोषणापछि नाइमाप्रति झनै रुष्ट नाडा
अहिले नाडा अन्य विषयले भन्दा पनि बढी अटो शो लाई लिएर नाइमाप्रति रुष्ट छ । नाडाले २०८१ फागुनमै नाडा अटो शो–२०२५ भदौ ३ देखि ८ सम्म गर्ने घोषणा गरेको थियो । १७ औँ संस्करणको अटो शोका लागि नाडाले फागुन २७ देखि चैत ४ गतेसम्म स्टल बुकिङका निम्ति रजिस्ट्रेसन पनि खुला गरिसकेको थियो । तर, गत चैत ४ गते भएको नाइमाको औपचारिक उद्घाटन कार्यक्रममा संस्थाले काठमाडौँको भृकुटीमण्डपमा साउन २१ देखि २५ गतेसम्म नेपाल मोबिलिटी एक्स्पो गर्ने घोषणा ग¥यो । नाडा अटो शोलाई ओझेलमा पार्ने उद्देश्यसहित एक साताअघि नाइमाले एक्स्पो गर्ने भएपछि दुई संस्था एक अर्काको विरोधीको रूपमा प्रस्तुत भए ।

 

‘सुरुमा नाइमा स्थापना गर्दा नीतिगत सुधारका लागि पहल गर्ने भनेर भनियो । नीतिगत रूपमा काम गर्नका लागि स्थापित संस्था हो भने उसले अटो शो गर्न जरुरी थिएन,’ नाडाका एक सदस्यले भने, ‘तर, प्रतिशोध साँध्ने ढंगमा अटो शो घोषणा गरियो । अटो शो नै गर्ने भए पनि केही समयको अन्तर राख्न सकिन्थ्यो तर, एक साता अघि राखेर शत्रुको जस्तो व्यवहार गरियो ।’ उनले लामो समय अगाडि नाडा अटो शो को मिति तय भएको देख्दादेख्दै पनि गलत मनसायले र वर्षौँ पुरानो अटो शोलाई ओझेलमा पार्ने उद्देश्यले नाइमाले यस्तो कदम चालेको बताए । करिब, एक साताको फरकमा दुई अटो शो आयोजना हुन लागेकाले व्यवसायी थप विभाजित हुनुपर्ने अवस्थामा पुगेका छन् । साना व्यवसायीलाई कुन अटो शो मा सहभागी हुने भनेर कित्ता छुट्टाउनसमेत मुस्किल परेको छ । पछिल्लो समयको गतिविधि हेर्दा दुई संस्था एक अर्कोलाई कसरी सिद्ध्याउन सकिन्छ भन्ने बाटोमा बढी केन्द्रित भएको देखिन्छ । चौधरी र गोल्छा समूह ठाउँ मिलेसम्म एक अर्कोलाई दबाबमा राख्न उन्मुख भएकाले समग्र अटो क्षेत्र यसको चेपुवामा पर्ने निश्चित जस्तै छ ।

वर्षौँदेखिको चौधरी–गोल्छा टकराब, यही कारण फुटेको थियो महासंघ
यी दुई समूहको विवादकै कारण नेपाल उद्योग वाणिज्य महासंघ विभाजित बन्न पुगेको बताइन्छ । महासंघको २०५० सालको निर्वाचनमा अध्यक्षका लागि विनोद चौधरी र हुलासचन्द गोल्छा उम्मेदवार बनेको थिए । तर, निर्वाचनको बिचमा गोल्छा एकाएक बिरामी भएपछि उम्मेदवारी फिर्ता लिनुपर्ने स्थिति बन्यो । गोल्छाले उम्मेदवारी फिर्ता लिएपछि चौधरी निर्विरोध निर्वाचित भए । तर, गोल्छाको उम्मेदवारी फिर्तालाई चौधरी समूहले ‘गोल्छाले हार माने’को रूपमा चर्चा गर्न थाले । यसले गोल्छा पक्षमा एक किसिमको इगो पैदा भयो । त्यसपछि, २०५२ सालको चुनावमा गोल्छा पक्षले पद्म ज्योतिलाई उम्मेदवार बनायो । यसमा चौधरी पक्ष पराजित भयो । चौधरीले फेरि अध्यक्ष बन्न खोजे र गुटबन्दी तथा विवादको खेल झाँगियो । यसले चौधरी र ज्योतिको इगोले व्यवसायीहरू बिच पहिलो पटक विभाजन ल्यायो र २०५९ सालमा चौधरीले नेपाल उद्योग परिसंघ (सिएनआई) स्थापना गरे । परिसंघमा महासंघको विकल्प स्वरूप समानान्तर संस्था बनाउँदै विभाजनलाई संस्थागत रूप दिने काम बढ्दै गयो ।

 

यो क्रमले पछिल्लो पटक शेखर गोल्छा र चण्डीराज ढकालको प्रतिस्पर्धासम्म पनि निरन्तरता पायो । विधान संशोधनमार्फत एक अर्कालाई रोक्ने प्रयास पनि भयो । हाल अटो क्षेत्रमा पनि सोही किसिमको अर्थात् एकले अर्कोलाई निषेध गर्ने किसिमको प्रयासहरू भएकाले यसले समग्र अटो क्षेत्रलाई समस्यामा पार्ने भन्दै चिन्ता व्यक्त भइरहेको छ ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार