१६ अर्ब रुपैयाँमा निर्माण भएको तल्लो सोलु जलविद्युत प्रसारण लाइनमा जोडियो

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुस्थित ८२ मेगावाट क्षमताको तल्लो सोलु जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारणमा आबद्ध भएको छ । जिल्लाको सोलुखोलामा निर्माणसम्पन्न उक्त आयोजनाको सोलु करिडोरको १३२ केभी डबल सर्किट प्रसारण लाइनमार्फत तिङ्ला सबस्टेसन हुँदै राष्ट्रिय ग्रिडमा जोडिएको हो ।

निजी लगानीमा निर्माण भएको यो आयोजना उत्पादन र प्रवाहको दृष्टिले एक महत्वपूर्ण कोशेढुङ्गा बनेको छ । सोलु हाइड्रोपावर लिमिटेडद्वारा प्रवद्र्धित उक्त आयोजनाले गत साउन ४ गतेदेखि पहिलो युनिटको विद्युत् उत्पादन सुरु गरी परीक्षणसहित ग्रिडमा जोडिएको आयोजनाका सहायक प्रबन्धक कृष्णबहादुर चौधरीले जानकारी दिए ।

 

उनका अनुसार सोलुदूधकुण्ड नगरपालिका–७ र ११ को सिमानामा पर्ने साल्मेमा बाँध निर्माण गरी, करिब छ किलोमिटर तल तिङ्लाको भदौरेस्थित भूमिगत पावरहाउसमा पानी झारेर विद्युत् उत्पादन गरिएको हो । पाँच किलोमिटर लामो सुरुङमार्ग निर्माण गरी खोलाको बहावलाई नियन्त्रण गर्दै ऊर्जा उत्पादन गर्ने संरचना निर्माण गरिएको छ । सहायक प्रबन्धक चौधरीले भने, ‘४१-४१ मेगावाट क्षमताका दुईवटा पेल्टन टरबाइन जडान गरिएको छ । दुवै युनिटको ग्रिडमा सफल परीक्षण सम्पन्न भइसकेको छ । अब नेपाल विद्युत् प्राधिकरणले आगामी १५ दिनसम्म उत्पादन परीक्षण गर्नेछ ।’

 

परीक्षणपछि विद्युत् प्राधिकरणको स्वीकृति प्राप्त गरेपछि आयोजनाले व्यावसायिक रूपमा नियमित विद्युत् प्रवाह सुरु गर्ने जनाइएको छ । सन् २०१६ मा सुरु गरिएको यस विद्युत् निर्माणको सुरुआतदेखि नै आयोजनालाई भौगोलिक कठिनाइ, प्राविधिक जटिलता र जलवायुजन्य अवरोध आएको थियो । निर्माण अन्तिम चरणमा पुगेका बेला, पहिरोले पेनस्टकसहितको संरचनामा ठूलो क्षति पु¥याएको थियो ।

 

जसका कारण सबै संरचना पुनः निर्माण गर्नु परेको आयोजना सहायक प्रबन्धक चौधरीले बताए । यो फेरबदलले लागतमा केही वृद्धि गरेको भए पनि दीर्घकालीन टिकाउपनामा फाइदा पुग्ने अपेक्षा गरिएको छ । एफएमओसहितका विभिन्न युरोपियन बैङ्कहरूको १६ अर्ब रुपैयाँको लगानीमा निर्माण भएको यो आयोजना, निजी क्षेत्र र अन्तरराष्ट्रिय सहकार्यको नमूना बन्न पुगेको छ । यति ठूलो परिमाणको लगानी, जोखिम व्यवस्थापन तथा समयभन्दा अगावै निर्माणसम्पन्न हुनु आफैँमा एक सकारात्मक भएको आयोजनाका जानकारहरु बताउँछन् ।

 

निर्माण कम्पनीले आयोजनालाई सेप्टेम्बर २०२५ भित्र सम्पन्न गर्ने लक्ष्य राखेको भए पनि निर्माण कार्य दुई महिनाअघि नै सम्पन्न गरी विद्युत् उत्पादन प्रारम्भ गरेको बताइएको छ । यस तल्लो सोलु आयोजनाबाट हिउँदमा न्यूनतम २३ मेगावाट र वर्षायाममा अधिकतम ८२ मेगावाट विद्युत् उत्पादन हुने लक्ष्य राखिएको छ ।

 

उत्पादन भएको विद्युत् १३२ केभी डबल सर्किट प्रसारण लाइनमार्फत तिङ्ला सबस्टेसन हुँदै राष्ट्रिय ग्रिडमा प्रवाह भइरहेको छ । यो आयोजना सरकारको ‘सुपर सिक्स’ परियोजनाको हिस्सा हो, जसअन्तर्गत निजी लगानीमा निर्माण भइरहेका ६ वटा प्रमुख जलविद्युत् आयोजना समावेश छन् ।

 

नेपालमा निजी क्षेत्रबाट अहिलेसम्म निर्माण भएको सबैभन्दा ठूलो आयोजना भने ८६ मेगावाटको सोलु दूधकोशी हो । जुन यसअघि नै सञ्चालनमा आइसकेको छ । तल्लो सोलु आयोजनाले निजी लगानीको दोस्रो ठूलो जलविद्युत् आयोजना हो ।

 

विद्युत् उत्पादनसँगै यस आयोजनाले सोलुखुम्बु जिल्लामा रोजगार, पूर्वाधार, व्यावसायिक गतिशीलता र आर्थिक क्रियाकलापमा उल्लेखनीय योगदान दिएको छ । सुरुङ खन्नेदेखि पेनस्टक राख्ने, टरबाइन जडानदेखि पावर हाउस सञ्चालनसम्म दर्जनौँ स्थानीय युवा प्राविधिक र अप्राविधिक क्षेत्रमा संलग्न भएका थिए ।

 

स्थानीय जनप्रतिनिधिहरूले यो आयोजना सोलुखुम्बुको समृद्धिको मूल आधार बन्ने विश्वास व्यक्त गर्दै आएका छन् । विद्युत् उत्पादनसँगै पर्यटन, उद्योग, सेवा र पूर्वाधार विकासमा थप गति आउने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया

भर्खरै प्रकाशित


ट्रेन्डिङ

सम्बन्धित समाचार

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

साउनदेखि बिजुली महँगिँदै, व्यावसायिक ग्राहकलाई १३ र घरायसीलाई ५ प्रतिशत भ्याट

साउनदेखि बिजुली महँगिँदै, व्यावसायिक ग्राहकलाई १३ र घरायसीलाई ५ प्रतिशत भ्याट

ऊर्जामन्त्री श्रेष्ठ भन्छन्– पोखरा बैठकबाट ऊर्जा व्यापारमा दूरगामी निर्णय

ऊर्जामन्त्री श्रेष्ठ भन्छन्– पोखरा बैठकबाट ऊर्जा व्यापारमा दूरगामी निर्णय

साउनमा वाणिज्य बैंकहरूको ब्याजदर झन् सस्तो, ६ बैंकले घटाउँदा १४ को स्थिर

साउनमा वाणिज्य बैंकहरूको ब्याजदर झन् सस्तो, ६ बैंकले घटाउँदा १४ को स्थिर

सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ

सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ

सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा

सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा

किष्ट हस्पिटलद्वारा १५औँ कलेजो प्रत्यारोपण सम्पन्न: नेपालमै उच्च सफलताको कीर्तिमान

किष्ट हस्पिटलद्वारा १५औँ कलेजो प्रत्यारोपण सम्पन्न: नेपालमै उच्च सफलताको कीर्तिमान

ओली-लेखक पक्राउ गर्ने यस्तो थियो मन्त्रिपरिषद्को निर्णय र पक्राउ पुर्जी (पत्रहरूसहित)

ओली-लेखक पक्राउ गर्ने यस्तो थियो मन्त्रिपरिषद्को निर्णय र पक्राउ पुर्जी (पत्रहरूसहित)