काठमाण्डौ । भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम समयमै नहुँदा १० करोडभन्दा बढी रकम फिर्ता भएको छ। संघीय र प्रदेश सरकारले दिएको रकम उपयोग हुन नसकेपछि त्यसको एक हिस्सा फिर्ता गर्नुपरेको हो।
डिभिजन इञ्जिनियर सन्तोष आचार्यका अनुसार संघीय सरकारले दिएको २५ करोडमध्ये १७ करोड ६५ लाख मात्र खर्च भएको छ भने बाँकी ७ करोड ३४ लाख फिर्ता गरिएको हो। यस्तै, बागमती प्रदेशको १० करोडमध्ये ६ करोड ८० लाख मात्र खर्च भई ३ करोड २० लाख फिर्ता भएको छ। भरतपुर महानगरपालिकाले पनि ५ करोड विनियोजन गरेको थियो, तर सो रकमसमेत फ्रिज भएको छ। निर्माण कम्पनीले असार मसान्तसम्म ४०% काम पुरा गर्नुपर्नेमा हालसम्म भौतिक प्रगति ३०% मात्र भएको र आर्थिक प्रगति २.४९% मा सीमित भएको छ।
२०७८ असार २३ गते ७८ करोड ५० लाख रुपैयाँमा सम्झौता गरिएको रंगशाला निर्माण २०८३ पुस २२ गतेसम्म सम्पन्न गर्नुपर्नेछ। हालसम्म ५ हजार दर्शक क्षमताको प्याराफिट ढलान, एक प्याराफिटको काम, दुई टावरको भुइँतलाको काम, नाली र कम्पाउण्ड निर्माण, ट्रान्सफर्मर जडानजस्ता केही काम मात्र सम्पन्न भएका छन्। काम ढिलो भएपछि महानगर प्रमुख रेनु दाहालसहितको टोलीले निर्माण स्थलमै पुगेर कम्पनीलाई काम छिटो गर्न आग्रह गरेको थियो।

