काठमाण्डौ । नेपाल राष्ट्र बैंकले २ अर्ब ९२ करोड रुपैयाँ बराबरको रकम विभिन्न बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा राख्न प्रस्ताव मागेको छ।
राष्ट्र बैंकको वित्त व्यवस्थापन विभागले दिएको जानकारी अनुसार वाणिज्य बैंक, राष्ट्रिय स्तरका विकास बैंक र वित्त कम्पनीहरूले तोकिएको रकमको लागि प्रतिस्पर्धात्मक प्रस्ताव पेश गर्न सक्नेछन्।
यसअनुसार ‘क’ वर्गका वाणिज्य बैंकहरूलाई २ अर्ब ३४ करोड, ‘ख’ वर्गका विकास बैंकहरूलाई ४३ करोड ६७ लाख र ‘ग’ वर्गका वित्त कम्पनीहरूलाई १४ करोड ६२ लाख रुपैयाँ मुद्दती निक्षेपको रुपमा राखिनेछ।
राष्ट्र बैंकले प्रस्ताव पेश गर्ने बैंक तथा वित्तीय संस्थाहरूका लागि विभिन्न सर्तहरू तोकेको छ। जसअनुसार बैंकको पूँजी, कर्जा–निक्षेप अनुपात, तरल सम्पत्ति अनुपात, निष्क्रिय कर्जा प्रतिशत, मुनाफाको अवस्था र अघिल्लो कारवाहीको स्थिति हेरी छनोट गरिनेछ।
प्रस्ताव पेश गर्ने अन्तिम म्याद साउन १५ गते राति १२ बजेसम्म तोकिएको छ। लगानी अवधि २०२५ अगस्ट ११ देखि २०२६ अगस्ट ११ सम्म ३६६ दिनको हुनेछ।
राष्ट्र बैंकले यो लगानी बैंक तथा वित्तीय संस्थामार्फत सुरक्षित र स्थायित्वपूर्ण तरिकाले कोष परिचालन गर्नका लागि गरेको हो।

